बारामा कारागारको जग्गा मिचेर बनाइएका संरचना हटाउन प्रशासनको निर्देशन


eShilalekh

२६ चैत्र २०८२, बिहीबार १७:२०

कलैयाः जिल्ला प्रशासन कार्यालय बाराले कारागार शाखाको नाममा रहेको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचना अनुसार कलैया उपमहानगरपालिका ४ साविक कलैया गा.वि.स. वडा नं. ५ मा अवस्थित कारागार शाखाको कित्ता नं. १०३, १०२ र ४४४ को जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन निर्देशन दिइएको हो ।

प्रशासनले गरेको स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा विभिन्न व्यक्तिहरूले लामो समयदेखि कुनै पनि सरकारी निकायसँग सम्झौता वा अनुमति नलिई ती जग्गाहरूमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी उपभोग गरिरहेको पाइएको छ । यसरी बिना अनुमति सरकारी जग्गा कब्जा गरी गरिएको बसोबास र निर्माण कार्य गैरकानुनी भएको प्रशासनले स्पष्ट पारेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६)(क) बमोजिम जारी गरिएको यस सूचनामा सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्पूर्ण अतिक्रमण हटाइसक्न भनिएको छ ।

तोकिएको समयसीमा भित्र संरचनाहरू नहटाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने र संरचनाहरू प्रशासन आफैँले हटाउने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्