संस्थागत विद्यालयतर्फ एकता स्कुलको नतिजा उमहानगरमै उत्कृष्ट

सिमराः आधारभूत तह (कक्षा ८) को परीक्षामा संस्थागत (निजी) विद्यालयतर्फ जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित बारा एकता स्कुलले उत्कृष्ट नतिजा निकालेको छ । परीक्षामा सहभागी उपमहानगरपालिका भित्रका ५९ वटा सामुदायिक र संस्थागत विद्यालयमध्ये एकताको नतिजा उत्कृष्ट आएको हो ।
चैत्र १० गतेदेखि १८ गतेसम्म संचालन भएको कक्षा ८ को परीक्षामा एकताले ९६.८ प्रतिशत नतिजा प्राप्त गरेको छ । उक्त नतिजा उपमहानगरपालिका भित्रका विद्यालयले प्राप्त गरेकोमध्ये सर्वाधिक हो । परीक्षामा सहभागी ३१ विद्यार्थीमध्ये एकताका ३० विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । एक विषयमा ग्रेड प्राप्त नगरेका विद्यार्थीले भने ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् ।

उपमहानगरपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालयका संचालक एवम् शिक्षक दिवस न्यौपानेले खुशी व्यक्त गरे । यस्तो नतिजाले विद्यालयका अन्य विद्यार्थी र शिक्षकहरुलाई समेत हौसला मिल्ने न्यौपानेको भनाई थियो । न्यौपानेले आगामी दिनमा थप राम्रो नतिजाका ल्याउनका लागि आफूहरुले मेहनत गरिरहेको बताए ।
उक्त परीक्षामा २५ वटा सामुदायिक विद्यालयको नतिजा लज्जास्पद आईरहदा निजी विद्यालयले राम्रो नतिजा ल्याएका छन् । एकतापछि सेन्ट अल्फान्स स्कुलले ९३ प्रतिशत, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले ९२ प्रतिशत, साना किसान शिक्षा सदनले ९१.३ प्रतिशत, अक्षरा पाठशालाले ८८.६ प्रतिशत, ब्राइटर एकेडेमीले ८७.२ प्रतिशत, सफल होराइजनले ८६.७ प्रतिशत, अम्ब्रेला एकेडेमीले ८२.६ प्रतिशत, पाथिभरा बोर्डिङ स्कुल र डुमरवाना पब्लिक स्कुलले ८२.४ प्रतिशत ल्याएका छन् ।
३० संस्थागत विद्यालयको सहभागिता रहेको परीक्षामा ५० प्रतिशत भन्दा कम नतिजा ल्याउने दुई विद्यालय मात्रै छन् । लोटस एकेडेमीले ३५.८ प्रतिशत र सिमरा शुभारम्भ एकेडेमीले ४७.४ प्रतिशत ल्याएको हो ।





