पथलैयामा डिआइजी थपलियाको अनुगमन तथा निर्देशनात्मक ब्रिफिङ्ग कार्यक्रम सम्पन्न

पथलैया: मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले शुक्रबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र पर्साका प्रमुख, पोस्ट इन्चार्ज र अन्य सुरक्षाकर्मीहरूलाई निर्देशनात्मक ब्रिफिङ्ग सम्बोधन गरेका थिए ।
अनुगमनका क्रममा डीआईजी थपलियाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनिकरणमा केन्द्रित हुन जोड दिए। उनले सवारी दुर्घटना हुनुका प्रमुख कारणहरूको वैज्ञानिक ढंगले पहिचान गरी त्यसअनुसार रणनीति बनाइ कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
ब्रिफिङ्गमा डीआईजी थपलियाले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा प्रदान गर्न निर्देशन दिँदै प्रहरी संगठनप्रति जनविश्वास बढाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए। थपलियाले सर्वसाधारण नागरिक तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिएका थिए। सडक सुरक्षाबारे जनस्तरमा सचेतना अभिवृद्धि गर्न सके दुर्घटना न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने थपलियाको भनाइ थियो।
कार्यक्रममा कार्यालय प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बस्नेत तथा ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिलबहादुर सिंहको समेत उपस्थिति रहेको थियो । उनीहरूले कार्यालयको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे डीआईजी थपलियालाई जानकारी गराएका थिए।





