लागूऔषध गाँजासहित चार जना पक्राउ

वीरगन्जः प्रहरीले वीरगन्ज नाकाबाट ६ किलो १८ ग्राम लागूऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई वीरगञ्जको शङ्कराचार्य गेट नजिकैबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, पश्चिम चम्पारणका ३५ वर्षीय सफि अहमद, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महमद एकवाल रहेका छन्। शंका लागेर चेकजाँच गर्दा उनीहरूले आफ्नो शरीरको पेट र छातीको भागमा प्लाष्टिकले बेरेर गाँजा लुकाएको फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका चारै जनालाई हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।





