सिमरामा के.आई.ई.सी. को १६औँ शाखा सञ्चालन


eShilalekh

८ बैशाख २०८३, मंगलवार १६:५७

सिमराः उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी (के.आई.ई.सी.) ले सिमरामा आफ्नो १६औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

सिमरास्थित वाणिज्य बैंकको भवनमा आयोजित एक विशेष समारोहका बीच के.आई.ई.सी. काठमाडौँका कार्यकारी निर्देशक राजेन्द्र रिजाल र सिमरा शाखाकी कार्यकारी निर्देशक सबु कडेँलले संयुक्त रूपमा शाखाको ओपनिङ गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र आसपासका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई घरदैलोमै गुणस्तरीय र भरपर्दो शैक्षिक परामर्श उपलब्ध गराउनु नै शाखा विस्तारको मुख्य उद्देश्य रहेको बताएका छन् ।

रिजालले सही सूचना, पारदर्शी प्रक्रिया र व्यक्तिगत परामर्शलाई प्राथमिकता दिँदै विदेशमा अध्ययन गर्न चाहनेहरूका लागि संस्थाले विश्वासिलो पुलको रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नयाँ शाखामार्फत विद्यार्थीहरूले विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरूको छनोट, आवेदन प्रक्रिया, भाषा तयारी, भिसा काउन्सिलिङ र प्रस्थानपूर्वको मार्गनिर्देशन जस्ता सम्पूर्ण सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा सहभागी स्थानीय अभिभावक, विद्यार्थी र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूले सिमरामा यस्तो सेवा सुरु हुनुलाई सकारात्मक कदमका रूपमा लिएका छन् । यसबाट सामान्य परामर्शका लागि पनि राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता र झन्झट हटेको भन्दै उनीहरूले खुसी व्यक्त गरे ।

पछिल्लो समय वैदेशिक शिक्षामा युवाहरूको आकर्षण बढिरहेको सन्दर्भमा सुरक्षित र व्यवस्थित प्रक्रियाका लागि विश्वसनीय परामर्श आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्