सरकारी विज्ञापनमा गरिएको विभेदकारी निर्णयविरुद्ध बारा र पर्साका पत्रकारले बुझाए ज्ञापनपत्र

सिमराः नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत बारा र पर्सा शाखाले सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
तीनै तहका सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने भनी गरेको निर्णयलाई विभेदकारी, प्रेस स्वतन्त्रता विरोधी र खुला बजार अर्थतन्त्रको मर्मविपरीत भन्दै पत्रकार महासंघले आ–आफ्ना प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बारा शाखाका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत ज्ञापनपत्र बुझाउँदै निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्दा मोफसलका सञ्चार गृहहरू आर्थिक संकटमा पर्ने र पत्रकारहरूको रोजगारी गुम्ने खतरा औंल्याएको छ ।
सो कार्यक्रममा केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, पत्रकार सत्यप्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष प्रियन्का दास लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । ज्ञापनपत्रमा सबै प्रकारका सञ्चारमाध्यमलाई समान रूपमा विज्ञापन वितरण गरी निष्पक्ष नीति अवलम्बन गर्न माग गरिएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाले पनि प्रमुख जिल्ला अधिकारी भोला दहालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सरकारको कदमले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको ठहर गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश खनालसहित पदाधिकारीहरू केसी लामिछाने, श्याम बन्जारा र युवराज खड्का लगायतको सहभागितामा बुझाइएको ज्ञापनपत्रमा देशभरका करिब चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरिएको छ ।
पर्सा महासंघले चैत १८ गते जारी गरिएको उक्त परिपत्र तत्काल खारेज गर्न, विज्ञापन वितरणलाई पारदर्शी र समावेशी बनाउन, सञ्चार क्षेत्रका लागि दीर्घकालीन संरक्षण नीति ल्याउन तथा सरोकारवालासँग अनिवार्य परामर्श गर्न चार बुँदे माग अघि सारेको छ ।
बारा र पर्सा दुवै जिल्लाका पत्रकारहरूले आफ्ना मागहरू सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरूले यस निर्णयले नागरिकको सूचनाको पहुँचमा बाधा पुर्याउने र सूचना प्रवाहमा असमानता बढाउने दाबी गरेका छन् ।





