पर्सामा लाखौं मूल्य बराबरको अवैध काठसहित ट्याक्टर नियन्त्रणमा, एक जना पक्राउ


eShilalekh

१३ बैशाख २०८३, आईतवार १७:२१

सिमराः पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ । आइतबार बिहान वीरगन्ज महानगरपालिका ३१ मिलन चोक क्षेत्रमा संयुक्त गस्तीका क्रममा उक्त ट्याक्टर बरामद गरिएको हो ।

कारबाहीमा सबैया सब–डिभिजन वन कार्यालय र स्थानीय साझेदारी वन उपभोक्ता समूहको टोली संलग्न रहेको थियो । प्रहरी तथा वनकर्मीको संयुक्त टोलीले प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरमा अवैध रूपमा ल्याइँदै गरेको सालको काठ फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

यस घटनामा संलग्न वीरगन्ज २९ मुसौली निवासी कृष्ण प्रसाद साहलाई पनि पक्राउ गरिएको छ । बरामद गरिएको करिब २४ फिट सालको काठ र ट्याक्टरको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ ।

आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पर्सामा पठाइएको रेन्जर भुपाल रोकायले जानकारी दिएका छन् । वन कार्यालयले अवैध काठ तस्करी नियन्त्रण गर्न गस्ती तथा निगरानी अझ कडा बनाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्