जीतपुरसिमरा ६ को आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ मा नवनिर्मित सुविधा सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनको बारा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगर प्रमुख राजन पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। नवनिर्मित भवनमा पाँचवटा कार्यकक्ष, एक भान्सा कोठा तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ।
भवन निर्माणका लागि आवश्यक एक कठ्ठा ५ धुर जग्गा वीरगन्ज महानगरपालिका १४ बहुवरी निवासी बदरुल होदा अंसारी र समिम रेयाज अंसारीले नि:शुल्क उपलब्ध गराएका थिए।
जग्गादाताहरूको योगदानको कदरस्वरूप उनीहरूलाई दोसल्ला ओढाई सम्मान तथा कदरपत्र प्रदान गरिएको वडा अध्यक्ष कैमुदिन अंसारीले जानकारी दिए। नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास वडा कार्यालयले लिएको छ।
वडा अध्यक्ष कैमुदिन अंसारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरु निरौला, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।





