भारत–नेपाल सीमामा ३० किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

सिमराः भारत–नेपाल सीमावर्ती दशगज्जा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले ठूलो परिमाणमा गाँजा बरामद गरेका छन् ।
सोमबार साँझ करिब ५ बजे बारा जिल्लासँग जोडिएको झरोखर नजिकको नो म्यान्स ल्याण्ड क्षेत्रमा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेको टाटा सफारी गाडी फेला परेको थियो । सुरक्षाकर्मीले गाडी रोक्न खोज्दा चालक भने गाडी छाडेर फरार भएका थिए ।
त्यसपछि संयुक्त सुरक्षा टोलीले गाडीमा गरेको जाँचका क्रममा भित्र लुकाइ राखिएको करिब ३० किलोभन्दा बढी गाँजा बरामद भएको सशस्त्र सीमा बल (एसएसबी) ले जनाएको छ । एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा विभिन्न प्याकेटमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।
बीआर ०५ पी ७३१८ नम्बरको उक्त टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको र घटना सीमा स्तम्भ ३५७/०३ नजिकै भएको बताइएको छ । एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद गाँजा र गाडी नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा नेपालतर्फको मकवानपुरबाट बारा हुँदै भारततर्फ लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ ।





