स्थानीय तहबाटै नापी-मालपोत सेवा: जीतपुरसिमरासहित २०७ पालिका इच्छुक

सिमराः स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्ने सरकारी योजनामा जीतपुरसिमरा उपमहानगरपालिकासहित देशभरका दुई सय सात पालिकाले रुचि देखाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १० गते इच्छुक पालिकासँग प्रस्ताव माग गरेअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले पनि सेवा सञ्चालन गर्न औपचारिक रूपमा निवेदन दिएको हो ।
मालपोत र नापी सेवा प्रवाहका लागि मन्त्रालयलाई निवेदन पेश गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो । मन्त्रालयका अनुसार बिहीबारसम्म जीतपुरसिमरा उपमहानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकासहित दुई सय सात पालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्न इच्छुक रहेको जानकारी गराएका छन् ।
चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहमा सञ्चालन गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

पालिका छनोट गर्दा सेवाग्राहीको चाप, पहुँच र व्यवस्थापन क्षमता मुख्य आधार हुने बताइएको छ। कम भिडभाड भएका तथा अत्यधिक सेवा चाप रहेका दुवै खालका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
यसैबीच मन्त्रालयले इच्छुक पालिका रहेका जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीहरूलाई स्थलगत अनुगमन गरी वस्तुस्थिति बुझ्न निर्देशन दिइसकेको छ। साथै सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा कर्मचारी तालिमको व्यवस्था गर्ने तयारीसमेत अघि बढाइएको छ।
मन्त्रालयले एक साताभित्र प्रारम्भिक तयारी पूरा गरी छनौट भएका केही पालिकामा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।





