साना किसान सहकारीद्वारा मृतक सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण

सिमराः साना किसान कृषि सहकारी संस्था सिमराले सञ्चालन गर्दै आएको बीमा कार्यक्रमअन्तर्गत एक सदस्यको निधनपछि परिवारलाई राहतस्वरूप तिन लाख रुपैयाँ प्रदान गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित अन्तरसमूह नं. ५ अन्तर्गत समूह नं. १३५ की सदस्य गोमा माया राईको असामयिक निधनपछि परिवारलाई म्यादि जीवन बीमा योजनामार्फत उक्त रकम हस्तान्तरण गरेको हो ।
वडा नं. २१ का अध्यक्ष सुबास श्रेष्ठले मृतकका परिवारजनलाई रकम हस्तान्तरण गर्दै सहकारी संस्थाले सञ्चालन गरेका यस्ता सामाजिक सुरक्षा कार्यक्रमहरूले सदस्यहरूको जीवनस्तर उकास्न र आकस्मिक अवस्थामा आर्थिक सहारा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सहकारीको यस्तो पहलले समुदायमा आपसी सहयोग र भरोसा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि सहकारी संस्थाले सदस्यहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । सहकारीका पदाधिकारीहरूले दिवंगत गोमा माया राईलाई एक अनुशासित, सक्रिय र जिम्मेवार सदस्यका रूपमा स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको संस्थाकी अध्यक्ष कमला अधिकारीले जानकारी दिइन् ।
साथै संस्थाले आगामी दिनमा पनि सदस्यहरूको सुरक्षा र कल्याणका लागि यस्ता बीमा तथा सामाजिक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
कार्यक्रममा अध्यक्ष, सहजकर्ता कुलोत्तम पोख्रेल, व्यवस्थापन टोली, कर्मचारी, अन्तरसमूहका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।





