रौतहटमा पूर्व वडा सदस्य महिलामाथि अमानवीय व्यवहार, बोक्सीको आरोपमा मलमूत्र खुवाइयो

रौतहटः रौतहटको कटहरिया नगरपालिकामा एक दलित समुदायकी पूर्व वडा सदस्य महिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।
कटहरिया ९ की ५५ वर्षीया अंकलियादेवी मुसहरिनलाई शनिबार साँझ स्थानीय केही व्यक्तिहरूले बलपूर्वक मानव मलमूत्र खुवाएको आरोप छ ।
पीडितकी छिमेकी पुकार माझीका छोराको विवाहका क्रममा एक १० वर्षीय बालक बिरामी भई उल्टी गरेपछि मुसहरिनमाथि जादूटुना गरेर बालकलाई हानि पुर्याउन खोजेको आरोप लगाउँदै १५–२० जनाको समूहले उनीमाथि दुर्व्यवहार गरेको पीडित परिवारले जनाएको छ ।
पीडितकी छोरी सुमिलादेवीका अनुसार साँझ करिब ७ बजे घरमा आमा–छोरी मात्र रहेका बेला समूह घरभित्र पसेर अंकलियादेवीको हात, शरीर र टाउको समातेर बियरको बोतलमा ल्याइएको मलमूत्र जबरजस्ती खुवाइएको थियो । विरोध गर्दा कुटपिटसमेत गरिएको उनले बताइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई मोहन आले मगरको नेतृत्वमा पुगेको टोलीले पीडितको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो । अचेत अवस्थामा रहेकी महिलाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपीहरूलाई पक्राउ गर्न जाँदा स्थानीय बासिन्दाले प्रहरीमाथि समेत आक्रमण गर्ने प्रयास गरेका थिए । हाल पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने आरोपीहरूको खोजी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान तीव्र बनाइएको र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताएका छन् ।






