सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीः सर्लाहीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका २ का ७५ वर्षीय हरिबहादुर अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अधिकारीलाई करिब साँझ ६ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पुर्याइएको थियो । चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका २ का अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






