ठोरीमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ


eShilalekh

२३ बैशाख २०८३, बुधबार १७:१०

वीरगन्जः पर्साको ठोरीबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका ८ का १९ वर्षीय विश्वास परियार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई चौतारामा रोकेर जाँच गरेको थियो ।

पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार जाँचका क्रममा बसमा सवार परियारको खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा चार सय ७५ पिस लेबोरोट क्याप्सुल बरामद भएको हो ।

बरामद लागूऔषधसहित परियारविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्