बारामा राष्ट्रिय परिचयपत्र बनाउन अब अनलाइन फाराम भर्नु नपर्ने

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रक्रियालाई थप सरल बनाउँदै अनलाइन आवेदन फारम भर्नु नपर्ने नयाँ व्यवस्था लागू गरेको छ । अनलाइन फारम भर्दा सेवाग्राहीले झेल्नुपरेको झन्झट र समस्यालाई मध्यनजर गर्दै कार्यालयले यो कदम चालेको हो ।
गृह मन्त्रालयको २०८२ चैत ८ गतेको निर्णयअनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता कायम भएपछि यो सहजता सम्भव भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८२ चैत ९ गते जारी गरेको सूचनाकै आधारमा बारामा पनि यो सेवा सुरु गरिएको छ ।

नयाँ व्यवस्था अनुसार २०८२ चैत ८ गतेपछि नागरिकता प्राप्त गर्ने नयाँ नागरिकहरूले राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन फाराम भर्नुपर्ने छैन । उनीहरूले नागरिकता प्रमाणपत्र प्राप्त गरेलगत्तै सिधै राष्ट्रिय परिचयपत्र शाखामा गएर आफ्नो विवरण दर्ता गराउन सक्नेछन् ।
यद्यपि उक्त मितिभन्दा अगाडि नै नागरिकता लिइसकेका पुराना नागरिकहरूको हकमा भने साविककै व्यवस्था लागू हुनेछ । उनीहरूले परिचयपत्रका लागि पहिलेकै प्रक्रिया अनुसार अनलाइन आवेदन फाराम भरेर मात्र सेवा लिनुपर्ने जानकारी प्रशासनले दिएको छ ।
यस नयाँ प्रणालीले सेवाग्राहीको समय र लागत दुवै बचत गर्ने विश्वास गरिएको छ ।






