बाराको प्रसौनी गाउँपालिकाद्वारा सार्वजनिक जग्गा खाली गर्न २१ दिने सूचना जारी

सिमराः बाराको प्रसौनी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन २१ दिने अल्टिमेटम जारी गरेको छ ।
गाउँपालिकाले बिहिबार एक सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र स्वेच्छाले अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवद्वारा जारी गरिएको उक्त सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नं. ९२ लाई कार्यान्वयन गर्ने सिलसिलामा यो कदम चालिएको उल्लेख छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय, र सार्वजनिक पोखरी मात्र नभई मस्जिद, मदरसा, इदगाह, बजार क्षेत्र, मठमन्दिर, इनार तथा खुला क्षेत्र वरिपरि निर्माण गरिएका टहरा, घर र घेराबार समेत हटाउन कडा निर्देशन दिएको छ ।
सूचना जारी भएको मितिले २१ दिनभित्र संरचना हटाएर जग्गा खाली नगरेमा गाउँपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिइएको छ । यसरी गाउँपालिकाले अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा पक्षबाटै असुलउपर गरिने व्यहोरा सूचनामा स्पष्ट पारिएको छ ।







