वीरगन्ज महानगरद्वारा ८८ निष्क्रिय सहकारी खारेजीको प्रक्रिया सुरु


eShilalekh

२५ बैशाख २०८३, शुक्रबार १७:५२

वीरगन्जः वीरगन्ज महानगरपालिकाले लामो समयदेखि कुनै कारोबार नगरी निष्क्रिय रहेका ८८ वटा सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अगाडि बढाएको छ ।

महानगरका विभिन्न वडाहरूमा कार्यक्षेत्र रहेका यी सहकारीहरूले सहकारी ऐन र नियमावली बमोजिम बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय, लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।

साथै सरकारी प्रणाली ‘कोपोमिस’ मा विवरण प्रविष्टि नगरेको र महानगरको सम्पर्कमा समेत नरहेको पाइएपछि महानगरपालिकाको आर्थिक विकास महाशाखाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै कारबाहीको प्रक्रिया थालेको हो ।

महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णका अनुसार चैत १२ गतेको निर्णय बमोजिम वीरगन्ज महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा ३ अनुसार यी संस्थाहरूमाथि कारबाही अघि बढाइएको हो ।

ऐनकै प्रावधान अनुरूप संस्थालाई आफ्नो पक्ष राख्ने मौका दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ । तोकिएको ३५ दिनभित्र उचित कारण र आवश्यक कागजातसहित सम्पर्कमा नआएका खण्डमा ती सबै सहकारीहरूको दर्ता स्वतः खारेज गरिने महानगरले स्पष्ट पारेको छ ।

प्रमुख कर्णले कतिपय सहकारीहरू सहकारी अभियानको मर्मविपरीत गतिविधिमा संलग्न रहेको गुनासो आएको र लामो समयदेखि सम्पर्कविहीन रहेकाले यस्तो कदम चालिएको बताए ।

महानगरपालिकाले सम्बन्धित सबै संस्थाहरूलाई समयमै सम्पर्कमा आउन आग्रह गर्दै अन्यथा कानुनी रूपमै अस्तित्व समाप्त पारिने चेतावनी दिएको छ । यस कदमले सहकारी क्षेत्रमा सुशासन कायम गर्न र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्