बर्डफ्लुका कारण अनुसन्धान केन्द्रका हजारौँ पन्छी नष्ट, ५० लाख बराबरको नोक्सानी


eShilalekh

२६ बैशाख २०८३, शनिबार १८:२९

सिमराः बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ ।

गत चैत अन्तिम साता टर्की जातको पन्छीमा पहिलो पटक सङ्क्रमण देखिएपछि फार्ममा रहेका विभिन्न आधा दर्जन प्रजातिका पन्छी, अण्डा र दाना नष्ट गर्दा सो बराबरको क्षति भएको हो ।

अनुसन्धानका लागि पालिएका पन्छीहरूमा धमाधम सङ्क्रमण फैलिएपछि सरकारी मापदण्डअनुसार सबै पन्छीहरूलाई नष्ट गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार सङ्क्रमण नियन्त्रणका लागि करिब दुई हजार कुखुराका चल्ला, एक हजार दुई सय गिरीराज कुखुरा, चार सय ५० बट्टाई, ४७ टर्की र ३३ वटा तित्रा नष्ट गरिएको छ ।

पन्छीसँगै फार्ममा रहेका करिब तीन हजार एक सय ५० किलोग्राम विभिन्न प्रकारका दाना समेत नष्ट गरिएको छ । सूचना अधिकारी प्रजाले रु ४५ देखि ५० लाखको नोक्सानी भएको पुष्टि गर्दै हाल प्रभावित क्षेत्रमा चुना छर्किने, मल पुर्ने र आगोको तापले पोल्ने जस्ता निर्मलीकरणका कार्यहरू भइरहेको जानकारी दिए ।

फार्मलाई पूर्ण रूपमा सङ्क्रमणमुक्त बनाएर पुनः सञ्चालन गर्ने तयारी समेत सुरु भइसकेको छ । कार्यालयले पोखरा र नेपालगञ्जस्थित अन्य अनुसन्धान केन्द्रहरूबाट आवश्यक पन्छी र अण्डा ल्याएर कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।

साथै यसअघि कृषकहरूलाई उपलब्ध गराइएका विभिन्न प्रजातिका पन्छीहरू फिर्ता ल्याएर अनुसन्धानको मौज्दात बढाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्