महोत्तरीमा हावाहुरीका कारण गोठ भत्किँदा एक महिलाको मृत्यु

महोत्तरीः महोत्तरीमा हावाहुरीका कारण गाईगोठ भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ६ मुसहरी टोलकी ५० वर्षीया सुनिता सदा रहेकी छिन् । उनी स्थानीय सुन्देश्वर सदाकी श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर आएको तीव्र हावाहुरीबाट बच्न सुनिता स्थानीय झगरु मुखियाको गाईगोठमा ओत लाग्न गएकी थिइन् । सोही क्रममा हावाहुरीले गोठ अचानक भत्काउँदा उनी भित्रै च्यापिएकी थिइन् ।
घटनास्थलमै उनको मृत्यु भएको जानकारी दिँदै महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।






