कलैयाका दुई स्वीट्स पसललाई ७० हजार जरिवाना

कलैया: बाराको कलैया उपमहानगरपालिका भित्रका बजार क्षेत्रमा सोमबार सरकारी निकायको संयुक्त टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई वटा स्वीट्स पसललाई ७० हजार रुपैयाँ समेत जरिवाना गरिएको छ ।
अनुगमन टोलीले कलैया उपमहानगरपालिका ६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरीलाई ५० हजार र कलैया ५ स्थित केसर स्विट्सलाई २० हजार जरिवाना गरेको हो । मापदण्ड विपरित काम गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बारा, घरेलु तथा साना उद्योग कार्यालय बारा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्च बाराको संयुक्त टोलीले कलैया बजारस्थित ६ वटा विभिन्न संस्था तथा फर्महरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा डेरी उद्योग, किराना पसल तथा होटललाई सुझाव दिइएको बताइएको छ ।






