एसईईको नतिजाबाट असन्तुष्ट वीरगन्जका एक किशोरद्वारा आत्महत्या

वीरगन्जः माध्यमिक शिक्षा परीक्षाको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । वीरगन्ज महानगरपालिका ११ श्रीपुरका सन्नी पटेलले नतिजा सार्वजनिक भएपछि सोमबार राति आत्महत्या गरेका हुन् ।
वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी रहेका उनी नतिजा सार्वजनिक भएदेखिनै निकै निरास र चिन्तित देखिएको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका सदस्यहरूले सन्नीलाई सम्झाइबुझाइ गरिरहेका बेला उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेर भित्रबाट ढोका बन्द गरेका थिए । ढोका फलामको भएकाले त्यसलाई फुटाउन समय लागेको र ढोका खोलेर हेर्दा उनले ओछ्यानको तन्नाको पासो लगाएर आत्महत्या गरिसकेका परिवारका सदस्यले जनाएका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको छ ।
प्रहरीका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।






