छिमेकीको हत्यामा भारतीय सुटरको प्रयोग, तीन महिनामा पक्राउ

सिरहा: सिरहामा भारतीय सुटर प्रयोग गरी हत्या गरिएको एक घटनाको रहस्य तीन महिनापछि पर्दाफास भएको छ । तीन महिना लामो प्रहरी अनुसन्धानपछि सिरहा नगरपालिका १ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या सुपारी दिएर गराइएको खुलेको हो ।
यादवको गत माघ १६ गते दिउँसो सिरहा नगरपालिका ७ स्थित आफ्नै खेत नजिक गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले करिब तीन महिनापछि स्थानीय ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको हो ।
सिरहा प्रहरीका अनुसार यादवले पारिवारिक रिसइबीका कारण भारतीय सुटरमार्फत हत्या गराएको प्रारम्भिक बयान दिएका छन्। प्रहरीका अनुसार हत्या गर्न तीन लाख रुपैयाँमा ‘डिल’ भएको थियो। त्यसमध्ये एक लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको र बाँकी दुई लाख रुपैयाँ दिन बाँकी रहेको बयानमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवम् प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार उपेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य भारतीय नागरिकहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच सोही अनुसन्धानका क्रममा प्रहरीले अर्को गोली प्रहारको घटना पनि सार्वजनिक गरेको छ। प्रहरी अनुसन्धानअनुसार औरही गाउँपालिका ५ निवासी श्यामसुन्दर शर्मामाथि पनि तीनै भारतीय सुटरमार्फत हत्या प्रयास भएको खुलेको हो ।
गत माघ ४ गते जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार हुँदा शर्माको टाउकोमा गोली लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको थियो, जहाँ शल्यक्रियामार्फत गोली निकालिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसइबीका कारण ५० हजार रुपैयाँ दिएर श्यामसुन्दरमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराउन लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पाठकले घटनामा संलग्न भारतीय सुटर, उनीहरूलाई सम्पर्क गराउने व्यक्तिहरू तथा अन्य सम्भावित संलग्नहरूको खोजी तथा अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।






