ट्रान्सफर्मर पड्किदा घाइते भएका मजदुरको मृत्यु, परिवार र स्थानीयले गरे राजमार्गमा प्रदर्शन


eShilalekh

२९ बैशाख २०८३, मंगलवार १७:३५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २३ स्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किदा घाइते भएका मजदुरको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका बहुदरमाई नगरपालिका ३ का ४५ वर्षीय चन्द्रजित यादवको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

यादवको मृत्यु भएसँगै पीडित परिवार तथा स्थानीयले क्षतिपूर्ति माग र दोषीमाथि कारवाही माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध बनेको छ ।

बैशाख २२ गते छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा पड्किएको थियो । स्थानीयले छाला उद्योग र ट्रान्सफर्मर मर्मत गरिएको कम्पनीमाथि कारवाही हुनुपर्ने माग राखेका छन् । छाला उद्योग र कम्पनीको लापरवाहीले घटना भएको स्थानीयको आरोप छ ।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धानका लागि अनमोल गुरुङ र सोनु यादवलाई नियन्त्रणमा लिएको छ । थप अन्यको समेत खोजी भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्