रौतहटमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

रौतहट: रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको परोहा नगरपालिका ६ कोप्वा स्थित सडकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा सुरेन्द्र पासवान को मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बीआर०५एएच २८७७ र बा८१प ६४४८ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका २२ वर्षीय पासवानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उक्त दुर्घटनामा घाइते भएका अन्य दुईमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगन्ज मा उपचार भइरहेको छ भने अर्का एक जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।
यस्तै कटहरिया नगरपालिका ४ बहादुरपुर टोल स्थित सडकमा भएको अर्को दुर्घटनामा रिंकुदेवी ठाकुर को मृत्यु भएको छ।
कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी ३८ वर्षीया ठाकुरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा सोमबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।






