सप्तरीमा बेपत्ता महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

सप्तरीः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ वनरझुलाबाट एक हप्तादेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय वीरेन्द्र रायकी पत्नी अनितादेवी रायको शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ भन्ने स्थानमा कोशी नदीको किनारमा फेला परेको हो । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार अनिताको शव सडेको र बीभत्स अवस्थामा भेटिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटना नियोजित हत्या भएको देखाएको छ । फेला परेको शवको हात र खुट्टा बाँधिएको छ भने टाउको तथा शरीरमा ढुंगा प्रहार गरिएको चोट देखिएकाले ढुंगाले किचेर हत्या गरिएको प्रहरीको अनुमान छ ।
अनिताका श्रीमान् वीरेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा बाहिर छन् भने उनका दुई छोरीहरूमध्ये जेठीको विवाह भइसकेको र कान्छी छोरी १३ वर्षकी छिन् ।
घटनाको पृष्ठभूमि हेर्दा अनिता अघिल्लो बुधबार रातिदेखि नै घरबाट बेपत्ता भएकी थिइन् । उक्त रात गाउँमा छिमेकीको विवाह भएकाले अधिकांश स्थानीय बासिन्दा जन्ती गएका थिए भने अनिता घरमा एक्लै थिइन् ।
उनी हराएको भोलिपल्ट घरको आँगनमा रगत देखिएपछि परिवार र प्रहरीले उनको खोजी तीव्र पारेका थिए । सात दिनपछि फेला परेको शवको प्रकृति र घटनास्थलको अवस्थालाई दृष्टिगत गर्दै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ ।






