एमालेको ‘मिसन पार्टी जागरण अभियान’का लागि पालिका केन्द्रीत कार्यविभाजन

सिमराः नेकपा एमालेले सञ्चालन गर्न लागेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत बाराका पालिकाहरूमा नेताहरूको कार्यविभाजन गरिएको छ । अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रले जिल्लाका १६ वटा पालिकामा शीर्ष नेताहरूको जिम्मेवारी तोकेको हो ।
कार्यविभाजनअनुसार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री महमद समीर, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, किसान श्रेष्ठ, ज्वालाकुमारी साह र एकबाल मियाँलाई विभिन्न पालिकाको जिम्मेवारी दिइएको छ । यसैगरी पूर्व प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, मधेस प्रदेशसभा सदस्य तथा पूर्व केन्द्रीय सदस्य मञ्जु थापामगर, पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरीलगायत नेताहरूलाई समेत अभियानमा परिचालन गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका र विश्रामपुर गाउँपालिकामा बारा ४ का पूर्वसांसद समेत रहेका श्रेष्ठ, कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा पूर्वमन्त्री साह, कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकामा मैनाली, आदर्श कोतवाल गाउँपालिकामा पौडेललाई खटाइएको छ । सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकामा मन्त्री समीरलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै परवानीपुर र देवताल गाउँपालिकामा मियाँलाई जिम्मेवारी तोकिएको छ । सिम्रौनगढ नगरपालिकामा केन्द्रीय सदस्य मोबिल आलम, पचरौता नगरपालिकामा केन्द्रीय सदस्य बलवीर चौधरी, निजगढ नगरपालिकामा केन्द्रीय सदस्य सिता सुवेदी, प्रसौनी गाउँपालिकामा थापामगर र करैयामाई गाउँपालिकामा पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
एमालेले अभियानमार्फत संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिलाई वडा तहसम्म सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ ।







