बालसदस्यसँग हातेमालो


eShilalekh

१६ जेष्ठ २०८३, शनिबार १८:५८

सिमरा: १९औं स्थापना दिवसको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शनिबार बाल सदस्यसँग विशेष कार्यक्रम सम्पन्न गरेको छ । साताव्यापी कार्यक्रम अन्तर्गत सिमरा पार्कमा आयोजित कार्यक्रममा सयौं बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो ।

बालबालिकाको मनोरञ्जन तथा सिर्जनात्मक विकासलाई लक्षित गर्दै विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो । सहभागी बालबालिकालाई शैक्षिक सामग्री समेत वितरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र पौडेलसहित सञ्चालक समिति, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष पौडेलले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक तथा रचनात्मक गतिविधिमार्फत समुदायसँग जोड्ने उद्देश्यले साताव्यापी कार्यक्रम आयोजना गरिएको बताए ।

साताव्यापाी कार्यक्रम अन्तर्गत शुक्रबार सिमरामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

संस्थाले सिमरास्थित राममन्दिरमा प्रतिक्षालय निर्माण गर्ने भएको छ भने साताव्यापी समापन समारोहमा जेष्ठ सदस्यलाई छाता वितरण गर्ने तयारी गरेको सचिव चुडामणी गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्