वीरगन्जः जनरल स्टोरमा चोरी गर्ने एक युवक पक्राउ

वीरगन्जः पर्सा प्रहरीले चोरी घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ७ रामटोलका अन्दाजी २० वर्षीय सुनिल मलीक रहेका छन्।
वीरगन्ज महानगरपालिका ६ हनुमान टोलस्थित निधि जनरल स्टोरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मलीकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधवार राति करिब १० बजे चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मलीकको संलग्नता खुलेपछि उनको घरमा खानतलासी गर्दा चोरी गरिएका सामान फेला परेको पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
प्रहरीले उनको साथबाट चाँदीको सिक्का २५ थान, तामाको कचौरा एक थान र रु. पाँच सय दरका दुई थान नेपाली नोट बरामद गरेको जनाएको छ । पक्राउ परेका मलीकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






