सामाजिक सञ्जालमा ग्याङ्ग संस्कृति फैलाउने २५ युवा पक्राउ, २१ मोटरसाइकल नियन्त्रणमा


eShilalekh

१८ जेष्ठ २०८३, सोमबार १३:०६

सिराहाः सामाजिक सञ्जालमार्फत विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गरी समाजमा आतंक फैलाउन आरोपमा प्रहरीले २५ युवालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ‘बालनका राजा’, ‘भगवानपुरका राजा’, ‘लहानका राजा’ र ‘हत्यारा भाइ’ लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समूह सञ्चालन गर्दै गालीगलौज, धम्कीपूर्ण सामग्री पोस्ट गर्ने र ग्याङ्ग संस्कृतिलाई प्रोत्साहन गर्ने गतिविधि भइरहेको थियो ।

यसैगरी बिना हेल्मेट, आवश्यक कागजपत्रबिनै तथा नम्बर प्लेट नभएका मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार भई राजमार्गमा होहल्ला गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुर्‍याउने गतिविधिबारे प्राप्त सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जनाएको छ ।

सिराहा–चोहर्वा सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना गरी कुल २५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्