ईनारमा युवक मृत्यु प्रकरणः दुई जना पक्राउ

महोत्तरीः महोत्तरीमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका १३ का ३५ वर्षीय सोनुलाल चौधरी र ३१ वर्षीय सतेन्द्रप्रसाद महतो रहेका छन् ।
गौशाला नगरपालिका १२ पडरियामा कृषि सिँचाइका लागि इनार खन्ने क्रममा ३६ फिट तल फेला परेको काठको ठुटो काट्न अस्वीकार गर्दागर्दै करकापमा परेर इनारभित्र छिरेका सर्लाहीका २२ वर्षीय बसन्तकुमार महतोको गत शनिबार मृत्यु भएको थियो ।
पेट्रोल चेनस मेसिन प्रयोग गरी काठ काट्ने क्रममा निस्किएको धुवाँका कारण बेहोस भएका महतोलाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
वडा स्तरीय ठेक्का प्रक्रियामार्फत भइरहेको सो काममा ठेकेदार लगायतले जबरजस्ती गहिरो इनारमा पस्न बाध्य बनाएकाले मृत्यु भएको दाबी गर्दै मृतकका बुवा चन्द्रप्रकाश महतोले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोनुलाल र सतेन्द्रप्रसादलाई पडरियास्थित घटनास्थलबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अपराध अनुसन्धान शाखाबाट विस्तृत अनुसन्धान भइरहेको छ ।







