जीतपुरसिमराद्वारा निर्माण कम्पनीसँगको दुई ठेक्का सम्झौता अन्त्य


eShilalekh

३० जेष्ठ २०८३, शनिबार १४:३८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्य समयमै सम्पन्न नगरेको भन्दै एक निर्माण कम्पनीसँग भएका दुई वटा ठेक्का सम्झौता अन्त्य गरेको छ । उपमहानगरपालिकाले सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का सम्झौता भएका दुई योजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न नभएकाले सार्वजनिक खरिद ऐन २०६३ तथा ठेक्का सम्झौताको शर्तअनुसार सम्झौता अन्त्य गरिएको जनाएको हो ।

उपमहानगरपालिकाका अनुसार ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकेको, यसअघि जारी गरिएको १५ दिने स्पष्टीकरण सूचनापछि पनि आधिकारिक प्रतिनिधि उपस्थित नभएको तथा कार्य सम्पन्न गर्न आवश्यक अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना र प्रतिबद्धता पेश नगरेको पाइएको छ ।

उपमहानगरपालिकाले मिति २०८३ वैशाख २२ गते ठेक्का किन नतोड्ने भन्ने विषयमा १५ दिने सूचना जारी गरेको थियो। तर निर्माण व्यवसायीको तर्फबाट सन्तोषजनक जवाफ तथा कार्य प्रगतिका लागि आवश्यक पहल नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले जानकारी दिए ।

सम्झौता अन्त्य गरिएका योजनामा वडा नं. ७ स्थित फकिरागिरी विद्यालय भवन निर्माण र वडा नं. १२ को वडा कार्यालय भवन निर्माण रहेका छन् । दुवै योजनाको निर्माण जिम्मेवारी पर्सास्थित एन. के. कन्स्ट्रक्सनले लिएको थियो ।

उपमहानगरपालिकाले अब सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । साथै सम्पन्न भएको काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारक प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।उपमहानगरले निर्माण व्यवसायी वा उसका प्रतिनिधिलाई सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले पहिलो पटक निर्माण कम्पनीसँग ठेक्का अन्त्य गरेको हो । प्रमुख प्रशासकीय अधिकृत निरौलाले काम नगर्ने निर्माण कम्पनीसँग यसैगरी ठेक्का सम्झौता अन्त्य गरिने र निर्माण कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्