चटपटे र बिर्यानी खाँदै जीतपुरमा लाखौंको चोरीः सीसीटीभी पनि चोरकै साथमा


eShilalekh

१४ असार २०८३, आईतवार १३:०७

सिमराः चोरीका घटना त तपाईंले धेरै सुन्नुभएको होला, तर बाराको जीतपुर बजारमा शनिबार राति एउटा यस्तो अनौठो चोरी भएको छ, जहाँ चोरहरूले पसल मात्रै लुटेका छैनन् आरामसँग चटपटे र बिर्यानीको स्वाद लिएर फरार भएका छन् ।

जीतपुरसिमरा–७ बजार क्षेत्रमा रहेको विशाल मार्केट र सिटी मार्केटका केही पसलहरूमा शनिबार राति एउटा गिरोहले लाखौंको धनमाल चोरी गरेको छ । तर यो चोरीको शैली भने निकै अचम्मको र फिल्मी शैलीको देखिन्छ ।

आइतबार बिहान जब व्यापारीहरू सधैंजसो आफ्नो पसल खोल्न पुग्छन्, तब त्यहाँको दृश्य देखेपछि उनीहरू छाँगाबाट खसेझैं हुन्छन् । चोरहरूले मुख्य ढोका वा ताला नफोडी, पसलमाथि लगाइएको जस्तापाता नै उप्काएर भित्र पसेर चोरी गरी फरार भएको देखिन्छ ।

चोरहरूको आत्मबल कतिसम्म देखिन्छ भने, उनीहरूले चोरी गर्न हतार गरेको पनि देखिदैन । चोरहरूले चटपटे पसलमा आफैंले चटपटे बनाएर खाएका छन् । त्यसपछि उनीहरू नजिकैको बिर्यानी हाउसमा पसेर बिर्यानी समेत खान भ्याउँछन् । जाँदाजाँदै उनीहरूले चटपटे र बिर्यानी हाउनसमा राखिएका महँगा इनर्जी ड्रिंक्स र फेन्सी पसलबाट रेडिमेड लुगाहरू समेत पोको पारेर लगेका छन् ।

आफ्नो अनुहार र चोरीको भिडियो प्रहरीसम्म नपुगोस् भन्नका लागि चोरहरूले चलाखीपूर्ण काम गरेका छन् । उनीहरूले अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामराहरू नै भित्ताबाट उखेलेर आफूसँगै लिएर फरार भएका छन् ।

चोरी भएको नगद र लाखौं मूल्य बराबरको सामानको यकिन विवरण आउन अझै बाँकी छ । घटनाको जानकारी पाएलगत्तै आइतबार बिहानै जीतपुरको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्