एपीएफलाई हराउँदै कोशीले जित्यो नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि

सिमरा: वीरगन्जमा आयोजित नेकोस कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशीले उपाधिमाथि कब्जा जमाएको हो ।
कोशीले दिएको ९९ रनको लक्ष्य पछ्याएको एपीएफ १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । एपीएफका लागि कविता जोशीले १४ रन बनाइन् भने रेवती धामीले १२ तथा ममता चौधरीले ९ रन जोडिन् ।
कोशीको जितमा रुबिना क्षेत्रीले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्मा र निरु राजवंशीले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९८ रन बनाएको थियो । उसका लागि काजोल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानामगरले १६ तथा रुबिना क्षेत्रीले १२ रन जोडिन् ।
एपीएफका तर्फबाट सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कोशीकी काजोल श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उपाधिसँगै कोशी प्रदेशले ट्रफी र नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, मेडल तथा पुरस्कार वितरण गरेका थिए ।







