मिसन पार्टी जागरण अभियान अन्तर्गत प्रसौनीमा एमालेको जनसंवाद तथा चियापान कार्यक्रम सम्पन्न

सिमरा: नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत बाराको प्रसौनी गाउँपालिका १ स्थित नकटुवा चोकमा मंगलबार चियापान तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
जनताका आवाज, सुझाव तथा स्थानीय समस्याहरू प्रत्यक्ष रूपमा सुन्ने, जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउने तथा जनअपेक्षाअनुसार संगठनलाई अझ सक्रिय, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले एमालेले देशभर मिसन पार्टी जागरण अभियान आयोजना गरिरहेको छ ।
प्रसौनी गाउँ कमिटी अध्यक्ष नाजिर हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ई. मोबिन आलम प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य आलमले पार्टीले जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउन घरदैलोदेखि जनसंवादसम्मका कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले जनताका गुनासा, सुझाव र अपेक्षालाई पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्ने उल्लेख गर्दै विकास, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न जनसहभागिता अपरिहार्य रहेको धारणा राखे ।
उनले एमाले जनताको विश्वासको केन्द्र भएकाले संगठनलाई अझ जिम्मेवार, अनुशासित र जनउत्तरदायी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । साथै स्थानीय तहमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधि, पार्टी पंक्ति र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य सुनिल पाल, प्रदेश कमिटी सदस्य मोहम्मद रफिक मियाँ, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद पटेल, जिल्ला सचिवालय सदस्य असेसर गुप्ता, गाउँ कमिटी उपाध्यक्ष सरोज साह, सचिव शशिकान्त महतो, उपसचिव ब्रिजकिशोर साह, पूर्व डीएसपी राजेश्वर साह, वडा नं. १ का वडाध्यक्ष लालबाबु मुखिया र वडा नं. ३ का वडाध्यक्ष छोटेलाल साह अतिथिका रूपमा सहभागी भएका थिए ।







