सिमरास्थित होटलमा बास बसेका एक भारतीय नागरिकको मृत्यु

सिमराः बाराको जीतपुरसिमरा-२ स्थित लामा होटलमा बास बसेका एक भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कोलकत्ताका ६० वर्षीय अरुप साँधु रहेका छन् ।
विश्वकप फुटबलको फाइनल खेल हेरेर सुतेका साँधुलाई स्वास्थ्यमा अचानक समस्या आएको र अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार प्रहरी पुग्दा साँधु अचेत अवस्थामा थिए । उनलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको थापाले बताए ।
साँधुको शव शल्यपरीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले साँधुसँगै रहेका सर्लाही हरिवन नगरपालिका–१ का ४० वर्षीय जिवन प्रधानलाई सोधपुछका लागि नियन्त्रणमा राखेको छ ।
प्रहरी निरीक्षक थापाले मृतकको भारतस्थित आफन्तलाई खबर गरिसकेको र आफन्त आएपछि शव जिम्मा लगाईने बताए ।







