आन्तरिक राजस्व कार्यालयका कर अधिकृत पाँच लाख घुसको रकमसहित पक्राउ


eShilalekh

७ श्रावण २०८३, बिहीबार १५:१२

सिरहाः आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियार बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८।७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा कर अधिकृत पालले सेवाग्राहीसँग घुस माग गरेका थिए । उनले आफूभन्दा माथिल्ला कर अधिकृतसहित अन्य व्यक्तिहरूलाई समेत मिलाउनुपर्ने बहाना बनाउँदै घुस मागेको बताइएको छ ।

घुस रकम नदिएसम्म अडिट प्रक्रिया अगाडि नबढाइने भन्दै कम्पनीसँग कागजात पेस गराइएको थियो । अडिटका क्रममा कर, जरिवाना तथा अन्य शीर्षकमा करिब दुई करोडसम्म दायित्व पर्ने जनाएको र कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाखसम्म कर दायित्व बढ्न सक्ने बताउँदै घुसको रकम बढाउँदै लगिएको थियो ।

अधिकृत पालले १२ लाख दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेका थिए । कम्पनीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः रकम घटाएर पाँच लाखमा सहमति गर्न खोजिएको थियो ।

घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म पर्खाएर राखिएको थियो । सोही दिन साँझ ६ः५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । त्यसपछि उनले पुनः सम्पर्क गरी भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए ।

बिचौलियाले आफू बाहिर रहेको भन्दै भाइमार्फत रकम बुझाउन आग्रह गरे पनि अन्ततः अधिकृत पालले रकम सिधै कार्यालयमै ल्याउन भनेका थिए । कार्यालयमै रकम बुझ्ने क्रममा अख्तियारको टोलीले अधिकृत पाललाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्