सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, स्वास्थ्य सेवा पुनः सञ्चालन


eShilalekh

१४ श्रावण २०८३, बिहीबार १४:१२

वीरगञ्जः सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार भएको वार्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारीबीच विस्तृत छलफलपछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न छिट्टै आवश्यक निर्देशिका तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणविरुद्ध कानुनी कारबाहीलाई कडाइ गर्ने र सम्बन्धित मन्त्रालयहरूबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।

स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघको सहकार्यमा एक कार्यदल गठन गर्ने तथा कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने सहमतिपत्रमा उल्लेख छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए । वीरगञ्जमा गत आइतबारदेखि नै सेवा बन्द गरी आन्दोलन जारी राखिएको थियो ।

सरकारसँग सकारात्मक सहमति जुटसँगै नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्