पथलैयामा बेवारिसे अवस्थामा भेटियो बलेरो जीप, सवारी धनी खोज्दै प्रहरी


eShilalekh

२० श्रावण २०८३, बुधबार १५:५५

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते मंगलबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी वेवारिसे अवस्थामा छ ।

दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडासदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिको जानकारीपछि पुगेको पथलैया प्रहरी चौकीको प्रहरी टोलीले गाडी नियन्त्रणमा राखेको छ भने सवारी धनीको खोजी थालेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले वेवारिसे भेटिएको गाडीको सवारी धनीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् । गाडी कसले र किन त्यहाँ छोडेको भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्