होटल इच्छा र वीरगन्ज कलेजबीच द्विपक्षीय सम्झौता: विद्यार्थीलाई ‘कमाउँदै सिक्दै’ र रोजगारीको अवसर


eShilalekh

२० श्रावण २०८३, बुधबार १८:१६

सिमरा: सिमरास्थित पाँच तारे स्तरको सुविधा सम्पन्न ‘होटल इच्छा’ र ‘वीरगन्ज कलेज अफ होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर’ बीच दक्ष जनशक्ति उत्पादन तथा व्यावसायिक प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार वीरगन्ज कलेजमा अध्ययनरत विद्यार्थीहरूले होटल इच्छामा व्यावहारिक अभ्यासका लागि व्यवस्थित इन्टर्नसिपका साथै ‘कमाउँदै सिक्दै’ कार्यक्रममा सहभागी हुने मौका पाउनेछन्। यसका साथै अध्ययन पूरा गरेका उत्कृष्ट विद्यार्थीहरूलाई होटलमा प्रत्यक्ष रोजगारीको अवसरसमेत प्रदान गरिनेछ।

कलेज र होटल व्यवस्थापनका अनुसार यस सहकार्यको मुख्य उद्देश्य हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्न चाहने युवाहरूलाई सैद्धान्तिक ज्ञानका साथै उत्कृष्ट व्यावहारिक अनुभव प्रदान गर्नु हो । ‘सबै मिलेर उज्ज्वल भविष्यतर्फ’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो सहकार्यले यस क्षेत्रका विद्यार्थीहरूलाई दक्ष बनाई सफल करियर निर्माणमा ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय चेन ‘लेमन ट्री’ को व्यवस्थापनमा सञ्चालन हुँदै होटल इच्छा

सिमरामा सञ्चालित यो सुविधा सम्पन्न पाँच तारे होटल निकट भविष्यमै भारतको प्रख्यात अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री’ को व्यवस्थापनमा सञ्चालन हुने तयारीमा छ। होटल इच्छा र लेमन ट्री होटल समूहबीच यसअघि नै व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भइसकेको छ।

होटल इच्छा प्रालिका निर्देशक मुनसन वाग्लेका अनुसार लेमन ट्रीले आधिकारिक रूपमा व्यवस्थापन सम्हाल्नु अघि होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका पूर्वाधार, सेवा र क्षमता अभिवृद्धिका कार्यहरू तीव्र गतिमा भइरहेका छन् । लेमन ट्रीको व्यवस्थापन सुरु भएपछि यहाँका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी तालिम र अनुभव प्राप्त गर्ने बाटो थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्