एउटै मोर्चामा उभिए मधेस केन्द्रीत दल, गरे अग्रगामी मोर्चा घोषणा


eShilalekh

२३ श्रावण २०८३, शनिबार १५:०५

सिमराः मधेस केन्द्रीतसहित आठ राजनीतिक दलले राजनीतिक सहकार्यका लागि संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ को घोषणा गरेका छन्। थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा आयोजित एक विशेष कार्यक्रमकाबीच आठ राजनीतिक दलहरू मिलेर उक्त मोर्चाको औपचारिक घोषणा गरेका हुन्।

नयाँ मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, रिजवान अंसारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, डा. हरिनन्दन कुमार रंजन नेतृत्वको बहुजन एकता पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी सहभागी छन् । साथै तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार जोडिएको नवगठित ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) पनि यसै मोर्चामा आबद्ध भएको छ ।

मोर्चा घोषणासभामा नेता शर्माले अवधारणा पत्र सार्वजनिक गरेका थिए । संविधान संशोधन, सङ्घीयताको सुदृढीकरण, सामाजिक न्याय, मधेश, थरुहट, दलित, मुस्लिम लगायत उत्पीडित एवं सीमान्तकृत समुदायका अधिकार प्राप्तिका लागि मोर्चा गठन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्