वीरगन्जमा मृत भेटिएका व्यक्तिको सनाखत, परिवारद्वारा अन्तिम संस्कार


eShilalekh

३० श्रावण २०८३, शनिबार १३:१८

वीरगन्ज: वीरगन्ज महानगरपालिका १४ स्थित चिनीमिल आवास क्षेत्रको नालामा शुक्रबार मृत भेटिएका पुरुषको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १८ भवानीपुका करिब ४६ वर्षीय जंगबहादुर पासवानको रूपमा उनको पहिचान भएको हो । मृतकका १७ वर्षीय छोरा मन्दिप पासवानले शवको सनाखत गरेका हुन् ।

शुक्रबार दिउँसो करिब १२ बजे नालाको पानीमा डुबेर अचेत अवस्थामा फेला परेका पासवानको उद्धार गरी तुरुन्तै वीरगन्ज हेल्थ केयर अस्पताल पुर्‍याइए पनि चिकित्सकले जाँचलगत्तै उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो ।

पोस्टमार्टम पश्चात् प्रहरीले शव परिवारजनको जिम्मा लगाएको र परिवारका सदस्यहरूले शुक्रबार नै अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ ।

घटनाको यथार्थ कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्