भक्तपुरको होल्डिङ सेन्टरमा मृत भेटिएका बाराका पासवानको परिवारलाई शिक्षा र रोजगारी


eShilalekh

३१ श्रावण २०८३, आईतवार १८:३७

सिमराः भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा रहेको होल्डिङ सेन्टरमा मृत फेला परेका ५७ वर्षीय हीरालाल पासवानका पीडित परिवारलाई सरकारले तत्काल जमिन उपलब्ध गराउने भएको छ। सरकार र पीडित पक्षबीच ५ बुँदे सहमति भएपछि पासवान परिवार मृतकको शव पोस्टमार्टम गरी दाहसंस्कार गर्न तयार भएको हो ।

सहमति अनुसार सरकारले मृतकको परिवारलाई बाराको सुवर्ण गाउँपालिकामा सुकुमवासी परिवारले पाउने जमिन तत्काल उपलब्ध गराउनेछ। यसका साथै मृतक परिवारका दुईजना सदस्यलाई रोजगारीको व्यवस्था, बालबालिकालाई विद्यालय तहसम्मको निःशुल्क शिक्षा र परिवारका सदस्यको औषधोपचारको प्रबन्ध मिलाउन सरकार सहमत भएको छ।

सहमतिपत्रमा पीडित पक्षका तर्फबाट मृतकका छोरा रवि पासवान र बुहारी अञ्जली पासवानले हस्ताक्षर गरेका छन्। सरकारी तर्फबाट अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट, भूमि समस्या समाधान समितिका सदस्य अमिर न्यौपाने र उपसचिव सञ्जीव साहले हस्ताक्षर गरेका छन्।

थापाथलीस्थित बागमती नदी किनारको सुकुमवासी बस्तीबाट विस्थापित भएको पासवान परिवार पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो। डोजर लगाएर सुकुमवासी बस्ती भत्काएपछि उनीहरूलाई सुरुमा कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा राखिएको थियो। तर गत असार २७ गते कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारले उनीहरूलाई बोडेमा स्थानान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्