आज नागपञ्चमी पर्व मनाइँदै, किन गरिन्छ नागको पूजा ?

सिमराः आज देशभर नागको पूजा-अर्चना गरी नागपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष भने जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन परेको हो ।
आजको दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाउने गरिन्छ। मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ।
हिन्दु धर्ममा नागलाई भगवान् विष्णु र शिवकै स्वरूपका रूपमा पूजिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै देवतालाई नागका रूपमा मान्ने गरिएको हो। आजको दिन घरमा नागको फोटो टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्न नहुने धार्मिक विश्वास छ।
पर्वका अवसरमा आज देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा पूजाआजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। श्रद्धालुहरूले नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादका रूपमा चढाएर पूजाअर्चना गरिरहेका छन्।







