भीमफेदी दुर्घटनाः रजिस्ट्रार बडुकी पत्नी लक्ष्मीको निधन, मुख्य न्यायाधीशसहित घाइतेको उपचार जारी

सिमराः मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा मंगलबार बिहान भएको स्कोर्पियो दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको छ। उच्च अदालत वीरगञ्जका रजिस्ट्रार तारादत्त बडुको श्रीमती लक्ष्मीको उपचारका क्रममा छाउनी अस्पतालमा मृत्यु भएको हो ।
घटनालगत्तै गम्भीर घाइते भएकी लक्ष्मीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । दुर्घटनामा घाइते भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको छाउनी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक छुनिलाल चौधरी र मृतक लक्ष्मीका श्रीमान् रजिस्ट्रार बडुको हेटौंडा अस्पतालमा उपचार जारी छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोर्पियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको थियो।







