गरिमा हत्या प्रकरणः न्याय माग्दै सडकमा प्रदर्शन जारी


eShilalekh

६ भाद्र २०८३, शनिबार १५:३८

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन शनिबार पनि जारी छ । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड ७५ घण्टादेखि ठप्प छ ।

घटनाको विरोध गर्दै स्थानीयले बुधबार बिहान करिब ११ बजेदेखि सडक अवरुद्ध गरेका थिए । टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयले दिनरात सडक छोडेका छैनन् । चर्को घाम र वर्षाको समयमा पनि परिवार र स्थानीय सडकमै बसेर न्याय मागिरहेका छन् ।

पीडित परिवार र स्थानीयले कानुन संशोधन गरेर दोषीलाई फासी सजाय हुनुपर्ने, प्रधानमन्त्री, गृहमन्त्री तथा कानूनमन्त्री घटनास्थल आएर यस्तो घटना अबका दिनमा हुन नदिने सुनिश्चितता गर्न माग गर्दै आएका छन् । आक्रोशित परिवार स्थानीयले कानून संशोधन गर्न नमिले पीडकलाई आफूहरु समक्ष बुझाउनुपर्ने अडान लिईरहेका छन् । उनीहरुको आक्रोशले पाँच दिनदेखि सडक तातेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानून संशोधन गर्ने बिषय आफूहरूको अधिकार भित्र नपर्ने तर घटनाको दोषीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन पीडित परिवारलाई दिँदै आएका छन् । प्रजिअ मिश्रले बिहीबार राति पीडित परिवारका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै पाँच बुँदे सहमति समेत गरेका थिए । तर मृतक बालिकाकी आमा र बुवाले उक्त पाँच बुँदे सहमति अस्वीकार गरेका थिए ।

यता बालिकाको शव भेटिएको पाँच दिनपछि सामाजिक संजालबाट घटनाप्रति दु:ख व्यक्त गर्दै गृहमन्त्री सुधन गुरुङले सरकार चुप लागेर नबसेको बताएका छन् । नेपालको संविधान धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने कानून बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धि अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेकाले घटनाको आवेगमा दोषीलाई मृत्युदण्ड दिन नसकिने उल्लेख गरेका छन् । उनले यस्तो अपराध रोक्ने बलियो कानूनी व्यवस्था बनाउन सरकार प्रतिबद्ध रहेको र गरिमाको हत्या प्रकरणमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले जीतपुरसिमरा-२ का १६ वर्षीय एक बालक, जीतपुरसिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरी, उनका परिवारका सदस्यसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । चौधरी पथलैया-वीरगन्ज रुटमा चल्ने म्याजिक गाडीका चालक र १६ वर्षीय बालक सहचालक हुन् । पक्राउ परेकामध्ये १६ वर्षीय बालकले गरिमालाई आफूले बलात्कार र हत्या गरेको स्वीकार गरिसकेका छन् । बालिकालाई चकलेट खुवाएर शव भेटिएकै स्थानमा बलात्कार गरि डोरीले घाँटी कसेर हत्या गरेको बयान बालकले प्रहरीलाई दिएका छन् ।

पीडित परिवारले भने घटनामा ती बालक मात्र नभई पक्राउ परेका चौधरीको परिवारकै संलग्नता रहेको बताउँदै आएको छ । उनिहरुले चौधरीको घरमा बालिकाको बलात्कार र हत्या गरि शव अन्यत्र व्यवस्थापन गरेको आरोप लगाएका छन् । मृतक बालिकाकी आमा मनमती र बुवा मनोजले शनिबार जिल्ला प्रहरी कार्यालय पुगेर पूरक जाहेरी समेत दिएका छन् । जाहेरीमा उनीहरूले म्याजिक चालक चौधरी, सहचालक बालकसहित चौधरीका परिवार अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

गरिमा र म्याजिक चालक चौधरीको घर करिब ५० मिटरको दूरीमा छ भने शव भेटिएको स्थान करिव डेढ सय मिटर टाँढा छ । प्रहरीले आरोपित चौधरीको घर र शव भेटिएको घरलाई सुरक्षा घेरामा राखेको छ ।

साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरे बस्तीबाट हराएकी तीन वर्षीया बालिका गरिमा भदौ २ गते मंगलबार साँझ मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा दसधुरे बस्ती नजिकैको खाली र सुनसान घरमा शव फेला परेको हो थियो । शव फेला परे लगत्तै प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको थियो भने शव भेटिएलगत्तै चौधरी र १६ वर्षीय बालकलाई पक्राउ गरेको थियो ।

चौधरीलाई उनकै घर र बालकलाई शव भेटिएको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका बालक शव भेटिएकै स्थानमा थिए । अन्य स्थानीयसंगै घटनास्थलमा बसेर प्रहरीको गतिविधि नियालिरहेका बालकलाई सादा पोशाकमा पुगेको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना स्वीकार गरेका बालक स्वयं बालिकाको खोजीमा संलग्न थिए । बालिका हराएको दिनदेखि स्थानीयसँग बालिकाको खोजीमा उनी आफैं हिँडिरहेका थिए । शंका लागेर सोधपुछका लागि नियन्त्रणमा लिएका बालकले घटना स्वीकार गरेका हुन् । बालकले दिएको बयान र घटनास्थलको अवस्था मिल्दोजुल्दो भएपछी घटनामा उनको संलग्नता रहेको प्रहरीको निष्कर्ष छ ।

यसैबीच प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीको ठाँउमा सरुवा भई आएका ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जिम्मेवारी सम्हालेका छन् । उनले शनिबार पीडित परिवारसँग भेट्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्