पर्साको ढोङ्गही खोलामा डुबेर एक वृद्धको मृत्यु

सिमराः पर्साको विन्दवासिनी गाउँपालिका २ ढोङ्गही खोलामा एक वृद्धको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका १ का अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत रहेका छन् ।
भैँसी चराउन गएका बेला अहिर खोलामा डुबेर बेपत्ता भएका थिए । खोलामा बेपत्ता भएको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मी र इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको संयुक्त विपद् व्यवस्थापन टोलीले खोजी कार्य सुरु गरेको थियो ।
खोजी गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीले खोलामा डुबेको अवस्थामा उनको शव फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।
प्रहरीले घटनास्थल मुचुल्का उठाइसकेको छ भने शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ ।







