टेक्सासको अर्भिङमा हुने नासाको सम्मेलनको तयारी तीव्र

टेक्सास (अमेरिका): दक्षिण-पूर्वी अमेरिकामा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आएको ‘नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका’ (नासा) को सम्मेलन तथा ३५औं वार्षिक साधारणसभा आगामी सेप्टेम्बर ५ मा हुने भएको छ । अर्भिङस्थित भेटघाट रेस्टुरेन्ट बार एन्ड ब्यान्क्वेटमा कार्यक्रम हुनेछ ।
नासाले आफ्नो ३५ वर्षे यात्राको विशेष र महत्त्वपूर्ण अवसरका रूपमा यो सम्मेलनलाई लिएको छ । सम्मेलनमा हेल्प फर डेस्परेट एन्ड नीडी पिपुल इन्टरनेशनल, फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ आन्टरप्रनर्स (अमेरिका), डेभलपमेन्ट फर पिस इन्टरनेसनल सहआयोजक संस्थाका रूपमा जोडिएका छन् ।
आयोजकका अनुसार सम्मेलनले अमेरिकामा रहेका नेपाली समुदायका अगुवा, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तित्व, युवा पुस्ता तथा समुदायका सदस्यहरूलाई एउटै थलोमा ल्याउँदै नेपाली भाषा, संस्कृति, परम्परा र सामुदायिक एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेको छ। ३५औं अधिवेशनले नासियाको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण र दक्षिण-पूर्वी अमेरिकामा नेपाली समुदायबीच सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्मेलनलाई औपचारिकमा मात्र सीमित नराखी नेपाली कला, संस्कृति र मनोरञ्जनलाई समेत विशेष प्राथमिकता दिइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रस्तुति, विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ ।
कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने तथा आपसी भेटघाट, अनुभव आदान-प्रदान र सामाजिक सम्बन्ध विस्तारका लागि पनि अधिवेशन महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ । नासाले अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायका सदस्य, संघसंस्था, सामाजिक अभियन्ता, युवा, व्यवसायी, पेसाकर्मी तथा शुभेच्छुकहरूलाई सम्मेलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
कार्यक्रमका लागि अनलाइन दर्ताको व्यवस्था गरिएको छ । नेपाली समुदायको साझा पहिचान, एकता र संस्थागत विकासलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस अधिवेशनले टेक्सासमा नेपाली समुदायको एकताको सन्देश थप बलियो बनाउने अपेक्षा गरिएको जानकारी सबिन्द्र थापाले दिएका छन् ।







