अपडेटः नारायणी अस्पतालबाट चोरी भएका एक दिने शिशुको सकुशल उद्धार, एक महिला पक्राउ


eShilalekh

१५ भाद्र २०८३, सोमबार १४:५६

वीरगन्जः वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएका एक दिने नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ। शिशु चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलालाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वा निवासी सबिना खातुन रहेकी छन् । पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरि सञ्चालन गरिएको खोजीका क्रममा सोमबार इनर्वाबाट खातुनलाई शिशुसहित पक्राउ गरिएको हो ।

अस्पतालमा शिशुकी हजुरआमासँग आरोपी महिलाले बच्चा खेलाउँछु भन्दै मागेकी थिइन् । शिशु हातमा लिएपछि ती महिला अस्पतालबाटै बेपत्ता भएकी थिइन् । परिवारले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान र खोजी कार्यलाई तीव्र बनाएको थियो ।

पक्राउ परेकी सबिना खातुन र उद्धार गरिएका नवजात शिशु दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । शिशुको स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्