अक्षरा पाठशालाद्धारा तीज कार्यक्रम स्थगित गरेर बाढीपीडितलाई सहयोग

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित अक्षरा पाठशालाले तीज विशेष कार्यक्रमका लागि छुट्याइएको रकम रसुवा बाढीपीडितका लागि सहयोग गरेको छ । वार्षिक रुपमा गर्दै आएको कार्यक्रम स्थगित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लाग्ने खर्चमा थप गरी ५५ हजार पाँच सय ५५ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरेको हो ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा उक्त रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र तामाङले जानकारी दिए । देश शोकमा डुबेका बेला मनोरञ्जनात्मक कार्यक्रम भन्दा पनि विपद्ले पुर्याएको घाउमा मलम लगाउने प्रयास गरिएको बताए । उनले तीज कार्यक्रमका लागि छुट्याइएको रकममा विद्यालयका शिक्षकले व्यक्तिगतरुपमा थप गरेर सहयोग गरिएएको बताए ।
भदौ १० गते आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण मंगलबार दिउँसोसम्म एक हजार ५८ जनाको शव फेला परिसकेको छ ।
यसैगरी पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलको होली किड्स क्लबले विद्यालयबाट २२ हजार ८ सय १० रुपैयाँ संकलन गरेको छ । क्लबले विद्यालयका शिक्षक, विद्यार्थी र क्लबको तर्फबाट उक्त रकम संकलन गरेको हो । उक्त रकम पनि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरिएको छ ।

यसैगरी जीतपुरसिमरा–१४ स्थित डुमरवाना पब्लिक स्कुलका विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसा जम्मा गरेर दुई हजार तीन सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेका छन् ।







