सिरहा कारागारका कैदीबन्दीद्वारा भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग


eShilalekh

१७ भाद्र २०८३, बुधबार १५:३६

सिरहाः सिरहा कारागारका कैदीबन्दीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेका छन् ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि कारागारमा रहेका व्यक्तिहरूले स्वैच्छाले उक्त रकम संकलन गरेका हुन् ।

कारागार कार्यालय सिरहाका अनुसार कैदीबन्दीहरूले २०८३ भदौ १७ गते राष्ट्रिय वाणिज्य बैंक सिरहामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ४५ हजार रूपैयाँ सहयोग रकम जम्मा गरेका छन् ।

कारागारका कर्मचारी तथा सम्पूर्ण कैदीबन्दीहरूले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामनासमेत गरेका छन् ।

विपद्को यस कठिन समयमा मानवीय सहायता पुर्‍याउने पवित्र कार्य गरेको भन्दै कारागार प्रशासक विकल श्रेष्ठले सिरहा कारागारमा रहेका सम्पूर्ण कैदीबन्दीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्